FAQs Complain Problems

नगरपालिकाको संक्षिप्त परिचय

बडीमालिका र बुढीनन्दा भगवती जस्ता धार्मिक धरोहर, सांस्कृतिक गौरव एंव छेडेदह, नाटेश्वरी जस्ता मनोरम प्राकृतिक सुन्दरताले भरिएको र पर्यटकिय क्षेत्र खप्तड राष्टिय निकुंज सन्निकट रहेको, कर्णाली बुडीगंगा जस्ता नदी तथा खोलानालाको अघाद जलधीका साथै विविध प्रकारका जडीबुटीले युक्त प्राकृतीक सुन्दरताले भरिपुर्ण सुन्दर सुदुर पश्चिमको हिमाली जिल्ला बाजुराको सदरमुकाम रहेको साविक मार्तडी गाविस, जुगडा र बुडीगंगा गाविस समेतलाई समेटी नेपाल सरकार मन्त्री परिषदको मिति २०७१ साल मंसिर १६ गतेको निर्णय अनुसार नगरपालिका घोषण भई यस क्षेत्रकै धार्मिक आस्थाका केन्द्र विन्दु मानिने वडीमालिका माताको नामबाट नामाकरण भई यस नगरपालिकाको नाम वडीमालिका रहन गएको हो ।

१२ वटा वडा भएको यस वडिमालिका नगरपालिकाको पूर्वमा पाण्डुसैन र गोत्री पश्चिममा मानाकोट, आटिचौर र ब्रह्मतोला उत्तरमा कोल्टी, र दहकोट गाविस पर्दछन् भने दक्षीणमा कैलाशमाण्डौ गाविस रहेको छ । यस नगरपालिकाको जम्मा घर धुरी संख्या २७६५ रहेको छ भने कुल जनसंख्या १८२०७ रहेको छ । यस नगरपालिकामा झन्डै ३० प्रतिशत घर धुरीहरु गरिविको रेखामुनी अति गरिव रहेका छन् । जिल्लाको सदरमुकाममा अवस्थीत नगरपालिका भए पनि भौगोलिक विकटताका कारण क्षेत्रफलको हिसावले यस नगरपालिकाको केन्द्र मार्तडी सबै वडा बाट समान दुरीमा छैन यस नगरपालिकाको वा.नं १,२,५,६ निकै दुरीमा अवस्थीत छन् ।

यस नगरपालिकाको स्वास्थ्य र शिक्षाको अवस्था पनि कमजोर नै देखिन्छ भने सरकारी सेवामा रहेको रोजगारिको संख्या पनि न्यून रहेको छ । यस नगरपालिकामा स्नातकोत्तर तहको बाजुरा वहुमुखी क्याम्पस, उच्च मावि संख्या २, मावि संख्या ७, निमावि संख्या ७, प्रावि संख्या १४, र प्रारम्भीक वाल विकास केन्द्र ३७ भए पनि भौगोलिक विकटताका कारणले विद्यालयको उपस्थीति टाढा हुनुका साथै शिक्षाको गुणस्तर पनि कमजोर देखिन्छ भने विधालयहरुको भौतिक अवस्था पनि नाजुक रहेको छ । दुर्गमका विधालयहरुमा विधार्थिहरुका लागि बस्ने फर्निचर का साथै भवनको नै समस्या टड्कारो देखिन्छ । यस नगरपालिका क्षेत्र भित्रमा ५ वटा शहरी स्वास्थ्य केन्द्र ३ वटा स्वास्थ्यचौकी र एउटा जिल्ला अस्पताल रहेको छ । साविक ३ वटा गाविस गरी यस नगर क्षेत्रमा ८ वटा गाउँ घर क्लीनिक संचालनमा रहेका छन भने ३९ जना महिला स्वास्थ्य स्वयंसेविकाहरु कार्यरत रहेका छन् ।

यस क्षेत्रका प्रमुख पर्यटकीय स्थल वडीमालिका क्षेत्र कालाजग्रा पोरखे क्षेत्र र कालाजग्रा पोरखे क्षेत्र भित्र विभिन्न धार्मिक महत्वका मन्दिरहरु रहेका छन् । रतुडी कैलास, मनाको कैलास, कोर्धको कैलास, चौराँटा ढुन्कीको मष्टो, ऋषिमाडौं लगायत धेरै धार्मिक आस्थाका धरोहर रहेका छन् । दहडाँडाको अद्भुतता, कालाजग्रा गुफाको विचित्रता, त्रिवेणी पाटनको सौन्दर्यता, विरेखोला झरनाको कन्चनता यस नगरपालिकाकाा पर्यटकीय आकर्षणका केन्द्र हुन । वुढीगंगाको अघाध जलधी, र यस क्षेत्रका वन जंगलहरुमा रहेका असंख्या जडीवुटीहरु यस नगरपालिकाका प्रमुख सम्पत्ति हुन् ।

जिल्लाको सदरमुकाममा अवस्थित बडीमालिका नगरपालिका अन्य स्थानीय तह भन्दा व्यवस्थित र हरेक वडामा सूचनाको पहुँच पुगेको पहिलो नगरपालिकाको हो । सडक शिक्षा स्वास्थ्य स्वरोजगारी र सूचना प्रविधि गरी ५ स को प्राथमिकता निर्धारण गरी समृद्ध नगर खुसी नगरवासीको नारा साकार पार्ने  महा अभियानमा अभियानरत छ ।